बूढानीलकण्ठ नगरपालिका ३ देउला टोलबाट अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा ११ जना भारतीय नागरिक प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मंगलबार बेलुका पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिएको जानकारी दिनु भएको छ। पक्राउ पर्नेमा भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल बूढानीलकण्ठ नगरपालिका ३ देउला टोल बस्ने २४ वर्षका सनी मिणा, २५ वर्षका मोहित वर्मा, २६ वर्षका पिउस भारद्वाज, २५ वर्षका हरकेश डडैया,२२ वर्षका निशांत भारद्वाज र २३ वर्षका आकाश वर्मा रहेका छन्। यस्तै सोही ठाउँका १९ वर्षीय अंकित कुमार सैनी, २३ वर्षका सन्जु शाकला, २८ वर्षका रामसिंह जाठ, १९ वर्षका लोकेश कुमार र १९ वर्षका विकाश कुमार रहेका छन्।
बूढानीलकण्ठ नगरपालिका ३ देउलाटोलस्थित एउटा घर भाडामा लिइ उनीहरुले अनलाइन जुवा (सट्टाबाजी) खेल्ने, खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा निजहरुले २ अर्व रुपैयाँ भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने, खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा क्रिप्टो करेन्सीको कारोबार गरेको प्रहरीको दाबी छ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको मोवाईल फोन ३४ थान, ल्यापटप ५ थान, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक ४ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटीएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान बरामद गरेको छ।
हाल सम्म बूढानीलकण्ठ नगरपालिका क्षेत्रबाट पटक पटक भारतीय नागरिकहरु यस्तो कारोबारको आरोपमा पक्राउ परिसकेका छन् ।
प्रतिकृयाहरु