ट्राफिक प्रहरीले मङ्सिर १५ देखि तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने, लेन मिच्नेलाई नियमअनुसार कारबाही गरी अनिवार्य सचेतना कक्षा लिनुपर्ने भएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्रप्रसाद भट्टले उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी साधन चलाउनु रहेको बताउनुभयो ।

भट्टका अनुसार तीव्र गतिका कारण हुने दुर्घटनामा मानवीय क्षति बढी हुने गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार ५४३ र चालु आर्थिक वर्षको तीन महिनामा ६४९ वटा सवारी दुर्घटना तीव्र गतिका कारण भएको छ ।

यस्ता, दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले सवारी साधनको गति चेकजाँच गरी कारबाही गर्दै आएको छ । आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ४४७ र चालु आर्थिक वर्षको तीन महिनामा आठ हजार ५८४ जनालाई कारबाही गरिएको छ । सवारी चालकमा चेतनाको कमीले तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्ति रहेको उहाँको भनाइ छ ।