जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि दुई जनालाई जेल चलान गरेको छ। 

बाल यौन दुरुपयोग कसुरमा दुई जनालाई पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको हो। 

कारागार चलान हुनेमा काभ्रेपलाञ्चोकको साविक सापिङ गाउँपालिका–४ घर भइ काठमाडौंको कागेश्वरी मनोहरा–८ बस्ने ४७ वर्षीय जनार्दन अधिकारी र काठमाडौंकै कागेश्वरी मनोहरा–७ का ५१ वर्षीय राजनकुमार पौडेल रहेका छन्।

चाबहिलस्थित एउटा कलेजको कोर्ष को–अर्डिनेटर र शिक्षकले नाबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग छ। तीन जना नाबालिकाको तर्फबाट अभिभावकले प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए।

उजुरीपछि प्रहरीले पीडितहरुको प्रसूति गृह अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराएको थियो। उक्त घटनालाई प्रहरीले गम्भीरताका साथ लिएर सूक्ष्म तवरले अनुसन्धान सुरु गरेको थियो।

महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार सो कार्यमा संलग्न फरार रहेकाले प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवैमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुनेसम्बन्धी कसूरमा मुद्दा चलेको र अनुसन्धान सकिएपछि आज जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो।