काठमाडौं, चैत २८ गते । दश जना विदेशी आरोही र १२ जना नेपाली गाइडसहितको २२ जनाको टोलीले धौलागिरि हिमालको सफल आरोहण गरेकाे छ । शनिबार ९ः०० देखि १२ः०० बजेसम्म भएको आरोहण सन् २०२२ मा भएको यो पहिलो सफल आरोहण भएको पर्यटन विभागका प्रवक्ता मानबहादुर जिसीले जानकारी दिनुभयो ।

पर्यटन विभागको तथ्याङ्कअनुसार धौलागिरिमा दुई आरोहणदलबाट १४ जना पुरुष र सात जना महिला गरी २१ जनाले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार यो वसन्त मौसममा १८ वटा हिमाल आरोहणका लागि ६१ वटा आरोहण दलबाट ५०५ जना आरोहीले आरोहणका लागि अनुमति लिएको छ । यी मध्ये सबैभन्दा धेरै ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ ।

धौलागिरि हिमाल बाहेक अन्य सगरमाथा, ल्होत्से, कञ्चनजंगा, मकालुलगायतका अग्ला हिमालसहित बाँकी थप १७ वटा हिमालको समेत आरोहणका लागि तयारी शुरु भएको छ । विभागले आरोहण रोयल्टी शुल्कवापत् २९ करोड ७४ लाख ३४ हजार ८०१ रुपियाँ राजश्व समेत संकलन गरेको छ ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार चैत २६ गते शनिबार एकै दिन दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीको अढाई वर्ष पछिको यो संख्या सबैभन्दा धेरै भएको र अव पर्यटन क्षेत्रले पुरानै लयमा फर्कन थालेको तथ्याङ्कले देखाएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

यो मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले तथ्याङ्क सार्वजनिक गरेको छ ।