सिन्धुपाल्चोक, वैशाख २३ गते । नेपाली काँग्रेसलाई भोट माग्न नपाउने भन्दै बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा (माओवादी केन्द्र) कार्यकर्ताले काँग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन् । बिहीबार घरदैलो कार्यक्रम सकेर आराम गरी बसेका काँग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले सल्लाह गर्नु छ भन्दै बोलाएर कुटपिट गरेको घाइते कुमार तामाङले बताउनुभयो । 

बलेफी गाउँपालिका–५ माओवादी वडाअध्यक्ष रामबहादुर तामाङ र रमेश तामाङको  नेतृत्वका २० जना समूहले सल्लाह गर्नु छ भनेर बोलाई काँग्रेसलाई भोट नमाग्न दबाब दिंदै कुटपिट गरेको कुमारले आरोप छ । बियरको बोतल, ढुङ्गा, लाठी प्रयोग गरी कुटपिट गरेको अर्का घाइते खड्गबहादुर तामाङले बताउनुुभयो । काँग्रेस कार्यकर्ता बयानबहादुर तामाङ, सुवास तामाङ कुटपिटबाट घाइते भएका छन् ।

कुटपिटबाट घाइतेको नजिकैको अस्पताल उपचार सुरु गरिए पनि थप उपचारका लागि उनलाई धुलिखेल अस्पताल रिफर गरिएको छ ।  घाइते खड्गबहादुरको टाउकोमा गम्भीर चोट लागेको छ । बयान र सुवासको टाउको, कन्चट, निधारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले घटनाका दुबै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिनुभयो । 

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले नेपाली काँग्रेसका कार्यकर्ता निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका कारण विवाद हुँदा सामान्य छडप भएको बताउनु भयो । नेपाली काँग्रेसका जिल्ला सभापति जङ्गबहादुर लामाले कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्नुभएको छ । कुटपिट गर्ने माओवादी कार्यकर्ता फरार छन् । साभार गोरखापत्र