अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । 

आयोगका सहायक प्रवक्ता अधिकारीका अनुसार भ्रष्टाचारबाट आर्जित सम्पत्तिको वास्तविक स्रोत लुकाउन गरिएको यस्तो कार्य कानुनबमोजिम दण्डनीय भएकाले सम्बन्धित सबैविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार पौडेलले पदीय मर्यादा विपरीत कार्य गरी आर्जन गरेको सम्पत्तिलाई वैध देखाउन विभिन्न व्यक्तिसँग ऋण लिएको देखाउने कागजात तयार गरी बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरेका गर्नुभएको थियो । 

अनुसन्धानबाट पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको रकममध्ये दुई करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको आयोगले जनाएको छ । 

उक्त रकम बराबर बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ । साथै, एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत माग गरिएको छ ।

यसअघि नै पौडेलविरुद्ध छ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दर्ता भई विचाराधीन रहेको आयोगले जनाएको छ ।

उक्त कसुरमा सहयोग गरेको अभियोगमा हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोकाक्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी कायम गरिएको छ ।

उहाँहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको आयोगले जनाएको छ ।