जिल्ला प्रहरी कार्यालय इलामले गए राति एक हजार पाँचसय चार किलो गाँजा बरामद गरेको छ । मेची राजमार्गको गोलाखर्क भञ्ज्याङमा चेकजाँच गर्ने क्रममा खाली ट्रकको भित्री भागमा छुट्टै फलाम जडान गरी बनाइएको कोठामा ‘प्याकिङ’ गरिएको ४१ बोरामा उक्त गाँजा बरामद गरेको हो ।
इलामबाट झापातर्फ लाँदैगरेको अवस्थामा बरामद गरिएको इलामका प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो । गाँजा कहाँबाट ल्याएको हो भन्ने कुनै पुष्टि भइनसकेको उहाँको भनाइ छ । गोलाखर्क भञ्ज्याङदेखि मेची राजमार्गको राजदुवालीतर्फ ट्रक लागेपछि प्रहरीले केचना कञ्चनजङ्घा सडकतर्फबाट ट्रक फर्काउन भनेपछि चालकले ट्रक रोकेको र बाहिर जान्छु भनि गएको चालक नफर्किएपछि ट्रकमाथि थप चेकजाँच गर्दा गाँजा फेला परेको थियो ।
अहिले फरार चालकको खोजी कार्य भइरहेको र ना ४ ख ८९९६ नम्बरको उक्त ट्रकको विषयमा पनि यातायात व्यवस्था विभागमा कागजपत्र बुुझ्ने काम भइरहेको प्रहरी प्रमुख चन्दले जानकारी दिनुुभयो ।
बरामद भएको गाँजाको विषयमा पनि अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनुभयो । यति ठुलो परिमाणमा इलाममा पहिलो पटक गाँजा बरामद भएको हो । इलाम र पाँचथरको सिमाना राँकेबाट इलामतर्फ गाँजा आएको अनुसन्धानमा पाइएको र धनकुटातिरबाट आएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिकृयाहरु