मध्यपुरथिमि- ९, राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा शनिबार बिहान आगलागी हुँदा करिब ८० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

बिहान करिब ८ बजे कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई खबर गर्नुभएको थियो । प्रारम्भिक जानकारीअनुसार सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेस प्रालि’मा विद्युत् सर्ट भएर आगलागी भएको स्पाका सञ्चालक नरेश रञ्जितले बताउनुभयो ।

उहाँका अनुसार आगलागीबाट स्पामा मात्रै करिब ६० लाख रुपियाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । पाँच वर्षदेखि सञ्चालनमा रहेको स्पाले आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेको उहाँले बताउनुभयो ।

कम्प्लेक्सका सञ्चालक प्रजापतिका अनुसार आगलागीबाट कम्प्लेक्समा करिब २० लाख रुपियाँ बराबरको क्षति भएको छ । कम्प्लेक्स र स्पामा गरी करिब ८० लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागी भएको करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाउन जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासी र प्रहरी वृत्त थिमिबाट टोली खटिएको थियो । नेपाली सेना रणशेर गण, सूर्यविनायकको टोलीले पनि आगो नियन्त्रणमा सहयोग गरेको थियो ।

आगलागी बिहान भएकाले घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । अग्लो भवनको माथिल्लो तलामा आगलागी हुँदा दमकलबाट पानीको फोहोरा माथिसम्म पुर्‍याउन केही कठिनाइ भएको उहाँले जानकारी दिनुभयो ।

जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्ला भवनमा हुने आगलागी नियन्त्रणका लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउनुपर्ने बताउनुभयो । उहाँले अग्ला भवनमा हुने आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले नयाँ प्रविधि भित्र्याउनुपर्नेमा जोड दिनुभयो । रासस