- सृजनशील युवा समाज, बुढानीलकण्ठ-०१

बुढानीलकण्ठको फेदी, जहाँको स्वच्छ हावा र कञ्चन पानीले यहाँको पहिचान बनाएको छ। तर, आज त्यही पहिचानमाथि एउटा विलासी पाँचतारे होटल 'होलिडे इन रिसोर्ट' ले कुरुप प्रहार गरिरहेको छ। होटलको भित्र सुकिलो कार्पेट र चमकधमक होला, तर होटलको पछाडिबाट बग्ने ढल र हानिकारक रासायनिक पदार्थले स्थानीय खोलालाई 'मृत्युकुण्ड' बनाउँदैछ।

के विकास भनेको विनाशको जगमा ठडिनु हो? के एउटा ठूलो लगानीको होटलले स्थानीय प्राकृतिक स्रोतलाई आफ्नो निजी डम्पिङ साइट बनाउन पाउँछ? यी प्रश्नहरू आज बुढानीलकण्ठ वडा नं. ०१ का हरेक नागरिकको मनमा उब्जिएका छन्।

मौन प्रशासन: मिलेमतो कि लाचारी?

प्राकृतिक सुन्दरता र स्वच्छ वातावरणको परिचय बोकेको बुढानीलकण्ठ नगरपालिका आज 'कङ्क्रिटको बेथिति' र 'प्रदूषणको अखडा' बन्दै गएको छ। पछिल्लो समय वडा नं. ०१ स्थित होलिडे इन रिसोर्टले स्थानीय खोलामा सिधै रासायनिक फोहोर र ढल मिसाउनुले यहाँको पारिस्थितिकीय प्रणालीमा गम्भीर प्रहार गरेको छ।

तर, यो केवल एउटा होटलको मात्र समस्या होइन। विगतदेखि नै बुढानीलकण्ठ भित्र बनेका ठुला हाउजिङ्ग, पहुँचवालाका भव्य निवास र अन्य तारे होटलहरूले सार्वजनिक खोला, कुलो र खोल्सा कब्जा गर्ने र ढल मिसाउने कार्यलाई 'नियम' जस्तै बनाइसकेका छन्।

८ महिनाको मौनता: सेटिङ कि लाचारी? सबैभन्दा उदेकलाग्दो पक्ष त स्थानीय सरकारको भूमिका हो। मिति २०८२/०३/१६ गते दर्ता नं. १००८९मार्फत नगरपालिकामा लिखित उजुरी दिएको आज ८ महिना बितिसक्दा पनि प्रशासन टुलुटुलु हेरेर बसेको छ। ८ महिनासम्म एउटा उजुरीमाथि सुनुवाइ नहुनुले गम्भीर प्रश्न उब्जाएको छ— के नगर प्रशासन सर्वसाधारणको स्वास्थ्य र आवाजभन्दा ठुला होटल र हाउजिङ्ग सञ्चालकहरूको पहुँच र प्रभावको अगाडि नतमस्तक भएको हो?

हामी सृजनशील युवा समाजका युवाहरू टुलुटुलु हेरेर बस्न सक्दैनौँ। खोला भनेको केवल पानीको बहाव मात्र होइन, यो हाम्रो सभ्यता र पारिस्थितिकीय प्रणाली (Ecosystem) को मुटु हो। हाम्रो अभियान “खोला बचाऔँ, भविष्य बचाऔँ” केवल एउटा नारा मात्र होइन, यो अस्तित्वको लडाइँ हो।

हाम्रा मागहरू स्पष्ट र अकाट्य छन्:

  • होटललाई तत्काल कारबाही: होलिडे इन रिसोर्टले तुरुन्तै 'वाटर ट्रिटमेन्ट प्लान्ट' व्यवस्थित गरोस् र खोलामा ढल मिसाउन बन्द गरोस्।

  • नगरपालिकाको जवाफदेहिता: ८ महिनासम्म मौन बस्ने कर्मचारी र पदाधिकारीमाथि छानबिन होस् र तत्काल स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरियोस्।

  • प्रदूषणको क्षतिपूर्ति: खोलालाई पुरानै अवस्थामा फर्काउन होटलले पहल गरोस् र वातावरण विनाश गरेबापत जरिवाना तिराियोस्।

पाँचतारे होटलको नाफा भन्दा हाम्रा बालबालिकाको स्वास्थ्य र हाम्रा पुर्खाले सुम्पिएको प्रकृति धेरै बहुमूल्य छ। हामी विकास विरोधी होइनौँ, तर विनाशकारी 'विकास' हामीलाई स्वीकार्य छैन।

यदि नगरपालिका र होटल व्यवस्थापनले हाम्रो यो शान्तिपूर्ण ध्यानाकर्षणलाई कमजोरी ठानेमा हामी अझ सशक्त जनदबाब र कानुनी उपचारका लागि बाध्य हुनेछौँ। सम्पूर्ण नगरबासीहरूलाई आफ्नो क्षेत्रको वातावरण जोगाउन यस अभियानमा ऐक्यबद्धता जनाउन हार्दिक अपिल गर्दछौँ।