सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डरत्रास फैलाएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका–२, भङ्के निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले असार २ गते उनकै घरबाट पक्राउ गरेको हो। मगरले एक युवतीलाई जङ्गलमा लगेर खुकुरी देखाई, धम्क्याएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

निजको घरमा खानतलासी गर्दा प्रहरीले 'प्रेगाम्याक्स' एक ट्याब्लेट, 'ट्रोहमो' ४१ ट्याब्लेट, 'एन्टिकोप' दुई ट्याब्लेट र 'नाइट्राजोम' पाँच ट्याब्लेट लागूऔषध समेत बरामद गरेको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २१ वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। पीडित युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ।