धनुषाको ढल्केबरमा सुकुमवासीले भूमि तथा आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका सहभागीले “उठीवास बन्द गर”, “भूमि र आवासको अधिकार सुनिश्चित गर” तथा “जीवन र जीविकाको अधिकार सुनिश्चित गर” लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै ढल्केबरस्थित महेन्द्र पार्कमा पुगेर कोणसभा गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुमवासी बस्तीमा डोजर नचलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले लामो समयदेखि बसोवास गर्दैआएका सुकुमवासीलाई व्यवस्थापन गरी बसेकै जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
उहाँले सरकारले सुकुमवासी व्यवस्थापनका लागि लिएको नीति सकारात्मक भए पनि व्यवस्थापनभन्दा पहिले उठीवास गराउने कार्य उचित नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुकुमवासीलाई हटाउनुभन्दा पहिले बसोवास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारलाई हाम्रो आग्रह छ ।”
कोणसभामा मिथिला नगरपालिका–३, दिनाभद्री सुकुमवासी टोलका गोबिन्द सदाले सुकुमवासी बस्तीमा डोजर नचलाउन र स्थायी बसोवासको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले वर्षौंदेखि बसोवास गर्दैआएका परिवारलाई विस्थापित नगरी अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृयाहरु