लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट ३०० ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख सुवासचन्द्र बोहोराका अनुसार भारतबाट वीरगञ्जको रक्सौल नाका हुँदै काठमाडौँ उपत्यकामा लागुऔषध आपूर्ति गर्ने गिरोहको पहिचान गरी निगरानी गर्ने क्रममा मंगलबार ब्युरोबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–८ मा शङ्कास्पद अवस्थामा फेला परेका व्यक्तिलाई रोक्न खोजेको थियो ।

प्रहरीलाई छल्दै भाग्न खोजेपछि ती व्यक्तिले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको साथबाट ३०० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद भएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२१ का ४९ वर्षीय बासुदेव मियाँ रहेका छन् ।

ब्युरोका अनुसार मियाँले विगत तीन महिनादेखि प्रतिपटक २०० ग्रामका दरले ६ पटकसम्म काठमाडौँ उपत्यकामा खैरो हेरोइन आपूर्ति गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीमार्फत उपत्यकामा लागुऔषध आपूर्ति हुने गरेको विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार ३०० ग्रामभन्दा बढी खैरो हेरोइन कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्म र पाँच लाखदेखि २५ लाख रुपियाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्युरोले जनाएको छ ।