रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो २ बजेसम्म एक हजार दुई सय ९३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रसुवामा एक सय ४० जना, नुवाकोटमा एक सय ८६ जना, धादिङमा ६५ जना, चितवनमा तीन सय ५९ जना, गोरखामा ७२ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २१ जना र नवलपरासी पश्चिम एक सय ९४ जना र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको( १८ गरी एक हजार दुई सय ९३ जनाको शव फेला परेको हो । साथै घाइते भएका मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको त्रिवि शिक्षण अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म दुई सय २२ महिला, तीन सय ५५ पुरूष र चार सय ५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार दुई सय ६० र आफन्तका आठ सय ४६ गरी कुल दुई हजार एक सय छ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको एक हजार दुइ सय ६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार नौ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार आठ सय ९८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६ सय ५५ जना व्यक्तिलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको नेपाली प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृयाहरु