काठमाडौं- बैंकिङ कसुरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति आज जेल चलान भएका छन् ।दोलखा घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले आजै उनलाई कारागार चलान गरेको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक काटी दिएकामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको हो ।उनलाई विसं २०७६ मा उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम दुई दिन कैद र रु बाह्र लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका रिजाललाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो ।