बूढानीलकण्ठ नगरपालिका वडा नं १३ र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा 'प्रथम आर डब्लु विन्टर स्ल्याम २०२१' राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ गते हुने भएको छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवं रमणिय स्थल बूढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल मैदानमा उक्मात प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी प्रदान गरेको नेपालमा पनि छ।  

प्रतियोगितामा नुवाकोटे टाईगर, चटान, डेभिड, साईन टुप्पी ग्याङ, एक्स हिरो, लेडी एज्जल, तन्नु, सिजे, एससी, जीन, बाका, यु बि एल लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा रहनेछ । प्रतियोगितामा हेभी वेट च्याम्पियनले ८० हजार रुपैँया, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार, लाईट वेट च्याम्पियनले २५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा रेफ्रीका रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनीले खेल संचालन गर्नेछन् भने कार्यक्रम सञ्चालन ख्याती प्राप्त कलाकार जीवन तामाङ्गले गर्नेछन् । साथै यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण www.hamrokhelkud.com र Nepal Ring Wrestling Association को फेसबुक पेजबाट प्रशारण हुनेछ। 

यस प्रतियोगिताका लागि करिब १५ लाख खर्च हुने आयोजकको भनाई रहेको छ। उक्त प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, स्थानीय तह, निजि क्षेत्र सहित अन्य निकायको सहयोगको अपेक्षा राखिएको छ। खेलको विकाससँगै कोभिड १९ को महामारीले थलिएको पर्यटन प्रबर्द्धनका लागि पनि यस किसिमका प्रतियोगिताले माथि उकास्न मद्धत पुर्याउने जनाइएको छ । प्रतियोगिताको सफलता र स्थानीयको सहयोगले यस प्रतियोगितालाई आगामी वर्ष थप पुरस्कृत गर्दै अन्तराष्ट्रियकरण गर्ने योजनालाई थप हौसला प्रदान गर्ने आयोजकले बताएका छन्।

नेपालमा रिङ्ग रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिहरु अगाडी बढाउदै आएको छ । नेपालमा पनि रिङ रेस्लिङ खेलको लोकप्रियता बढ्दो रहेको अवस्थालाई ध्यानमा राखि यस खेलको विकास र विस्तार गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषदमा आबद्ध भई खेलको प्रवर्द्धन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उत्पादनका लागि यस किसिमका कार्यक्रम तथा प्रतियोगिताहरुको सञ्चालन गरिँदै आएको छ। नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडीको उत्पादनसँगै निरन्तर रुपमा तालिमको व्यवस्थापनका लागि रिङ रेस्लिङ्ग एकेडेमीको स्थापना समेत गरिसकेको छ।