सीमा क्षेत्रमा बिना अनुमति विदेशी मुद्रा सटही गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान महोत्तरीको सीमानाका भिट्ठामोडबाट ठूलो मात्रामा भारतीय रुपियाँसहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले सीमा क्षेत्रमा बिना अनुमति नेरु भारु सटही गर्दै गरेको अवस्थामा भिट्ठामोड जलेश्वर सार्वजनिक सडकबाट नौ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । उनीहरूको साथबाट ठूलो मात्रामा भारतीय नोटसमेत बरामद भएको छ । 

‘‘अहिलेसम्म ११ लाख रुपियाँ गनि सकिएको छ, अझै धेरै गन्न बाँकी छ’ प्रहरी उपरीक्षक मल्लले बताउनुभयो, ‘‘राष्ट्र बैङ्कको अनुमति बिना मनोमानी तरिकाले सटही गरेकाले नियन्त्रणमा लिइएको हो ।’’

बरामद रकम गन्ने काम सकिएपछि पक्राउ परेकाहरूको विवरणसहित नाम सार्वजनिक गरिने जिल्ला प्रहरीले बताएको छ ।

प्रहरी उपरीक्षक मल्लले यति ठूलो परिमाणको भारतीय रुपियाँ कहाँबाट आयो ? श्रोत के हो ? भन्ने विषयमा पनि सोधपुछ भइरहेको बताउनुभयो । राष्ट्र बैङ्कले तोकेको भन्दा बढी बट्टा लिने, नेपाल भारत आवागमन गर्ने यात्रुमाथि जबरजस्ती गर्ने जस्ता हर्कत गरेको गुनासो बढेकाले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।