रुवान्डामा आयोजना हुन लागेको विश्व फुटबल महासङ्घ (फिफा) को ७३औं कंग्रेसमा भाग लिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) पुग्नुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष विराटजङ्ग शाही एयरपोर्टबाटै घर फर्कन बाध्य हुनुभएको छ । 

एन्फाले फिफा कंग्रेसमा सहभागिता जनाउन शाहीको नामसहित भिसा र हवाई टिकटसमेत सुनिश्चित गरिसकेको थियो । तर अन्तिममा एन्फाले जानकारी विना शाहीको स्थानमा सदस्य मणिराज विष्टलाई रुवान्डा पठाएपछि शाही एयरपोर्टबाट घर फर्किन बाध्य हुनुभएको हो । 

सुरुवातमा कंग्रेसमा भाग लिन एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई र उपाध्यक्ष शाहीको नाम पठाएको थियो । तीनै जनाको टिकटसमेत आएको थियो । तर, एन्फाले अन्तिम समयमा शाहीको नाम हटाउँदै विष्टलाई कंग्रेसमा सहभागिता गराएकोले आफूमाथि गम्भीर अपमान भएको शाहीले बताउनुभयो । 

शाहीले आफू एयरपोर्ट पुगेपछि मात्र आफ्नो नाम हटाइएको जानकारी पाएको पनि बताउनुभएको छ । ‘‘४० वर्ष नेपाली फुटबलमा लाग्दा पहिलो पटक मैले अपमानित भएको महसुस गरेको छु । फुटबलमा मेरो योगदान र अध्यक्ष बनाउन नेम्वाङलाई सहयोग गरेबापत आज जीवनमा सबैभन्दा ठूलो अपमानित हुनुपरेको छ, ‘‘शाहीले भन्नुभयो त्यसको लागि एन्फा अध्यक्ष नेम्वाङज्यूलाई धेरै धेरै धन्यवाद ।’’