बारामा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१६ काट घाट क्षेत्रमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा एक जना चालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गको बिच बाटोमा एउटा हात्ती आएर सवारी साधनमा आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणपछि ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुर सिमरा उपमहानगर–१ निवासी करिब ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको हो । ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब १०० मिटर दक्षिण जङ्गलतर्फ हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिनुभएको छ ।
घटना भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको कमान्डमा ७ जनाको टोली, नेपाली सेनाको १० जनाको टोली र सशस्त्र प्रहरीको टोली समेत हात्ती धपाउन परिचालन भएको छ । हाल हात्तीलाई जङ्गलतर्फ धपाउने कार्य जारी रहेको र अन्य केही सवारी साधनमा पनि क्षति भएको बुझिएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिनुभयो ।

हात्तीले डब्लु बि ७३ जी ९५८७ नम्बरको माइक्रो बस र बा २ च ७९२८ नम्बर कप पिक अप गाडी बाटोको छेउमा पल्टाइदिएको छ । गाडीमा पटक पटक फर्की फर्की हात्ती आई पल्टिसकेको सहरी साधनमा समेत गाडीभित्र भएको सरसामानहरू खोजी निकाली क्षति गरिदिएको छ । हात्तीका कारण बिहान देखिनै राजमार्ग भई हिँड्ने दर्जनौँ गाडीको सिसा फुटालिदिएको र आवागमनमा अवरोध गरेको प्रहरीले जनाएको छ । तीनै सुरक्षा टोली परिचालन भए पनि हात्ती नहटेका कारण अझै राजमार्ग सुचारु हुन सकेको छैन ।

प्रतिकृयाहरु