काठमाडौं- अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दो जमिनी शक्ति भएको बताउनुभएको छ ।

चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा यस्तो बताउनुभएको हो । उहाँले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त भ्रमणका क्रममा उहाँले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गर्नाका साथै वृक्षरोपण पनि गर्नुभयो ।

फ्लिन नेतृत्वको टोलीले हिजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेको थियो । सो क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो ।

उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहरूबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । यस्तै प्रधानसेनापतिसँग पनि उहाँले भेटवार्ता गर्नुभएको थियो । यही जेठ २६ गते नेपालको चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएका उहाँ आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।-