काठमाडौँ, जेठ २३ गते । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले युरोपका केही देशबीच जारी द्वन्द्वका कारण मुलुकको सुरक्षामा चुनौति बढेको बताउनुभएको छ । युक्रेन—रसियाबीचको जारी द्वन्द्वतर्फ सङ्केत गर्दै सेनापति शर्माले दुई देशबीचको द्वन्द्वका कारण विश्वको अर्थतन्त्र तथा मुलुकको सुरक्षामा चुनौति बढेको बताउनुभयो ।  

नेपाली सैनिक प्रतिष्ठान खरिपाटी, भक्तपुरमा सोमबार आयोजित सि.सं. ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिमको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा सेनापति शर्माले मुलुकको सुरक्षा चुनौति बढदैगएको बताउनुभएको हो । सेनापति शर्माले भन्नुभयो “राष्ट्र राष्ट्रबीचको द्वन्द्व, अन्तर्राष्ट्रिय आतंकवाद, जातिय तथा धार्मिक अतिवादका कारण सुरक्षा चुनौति बढ्दैगएका छन । यसको सामना गर्ने नेतृत्व आजको आवश्यकता हो ।” 

राष्ट्र र नागरिकमाथिको सुरक्षा चुनौतिको सम्भावनाबारे पूर्वानुमान गरी त्यसको सामना गर्नसक्ने नेतृत्व आवश्यक रहेको बताउँदै सेनापति शर्माले राष्ट्रिय एकता, सार्वभौमसत्ता, मुलुकको स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणमा नेपाली सेना सधैं प्रतिवद्ध भएर लाग्ने धारणा व्यक्त गर्नुभयो ।

संविधानले तोकेको प्रमुख जिम्मेवारीबाहेक विपत व्यवस्थापन, राष्ट्र निर्माणका विभिन्न कार्यसँगै नागरिक–सैनिक सम्बन्ध विस्तारलाई नेपाली सेनाले विशेष प्राथकिता दिएको बताउँदै शर्माले अप्रत्यासित रुपमा आउने हरेक राष्ट्रिय सङ्कटमा नेपाली सेना जनतासँग काँधमाकाँध मिलाएर मुलुकको सेवामा समर्पित भएको बताउनुभयो ।   

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले गरेको व्यवसायिक कार्यकुशलता र योगदानका कारण  नेपाल शान्ति सेनाको देश भनेर परिचित हुन थालेको बताउँदै उहाँले नेपाली सेना आम नेपाली नागरिकको विश्वास तथा भरोसाको केन्द्रसमेत बन्न सक्नु गर्वको विषय रहेको धारणा व्यक्त गर्नुभयो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आईपर्ने जिम्मेवारी पूरा गर्न नेपाली सेना तत्पर र सक्षम रहेको बताउँदै सेनापति शर्माले नेपाली सेनालाई बहुआयामिक संगठनको रुपमा विकास गरिने बताउनुभयो । पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिम २०७८ भदौँ १० गते देखि २०७९ जेठ २३ गतेसम्म नौ महिना सञ्चालन भएको थियो ।

तालिममा उत्तीर्ण शिक्षार्थीहरुलाई प्रधान सेनापति शर्माले देश र जनताको सुरक्षाका लागि मन वचनबाट समर्पित भएर लाग्न निर्देशन दिँदै संस्थाको हितलाई केन्द्रविन्दुमा राखि व्यवसायिक छविलाई थप परिस्कृत गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।गोरखापत्र