नेपालगञ्ज, फागुन २८ गते । पश्चिम नेपालका पर्यटकीय क्षेत्रको अवलोकन र प्रचारप्रसारका लागि भारतबाट ५० भन्दा बढी पर्यटन व्यवसायी नेपालगञ्ज पुगेका छन् । भारतीय पर्यटकलाई आकर्षित गर्न नेपालगञ्जमा पहिलो पटक सञ्चालन भइरहेको तीन दिने ‘वेस्टर्न ट्राभल मार्ट’ मा सहभागी हुन उनीहरू यहाँ आएका हुन् । यस क्षेत्रका प्रमुख पर्यटकीय स्थलको अवलोकनका साथै भारतीय पर्यटक ल्याउने विषयमा अन्तरक्रिया र छलफल पनि गरिएको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) बाँकेले जनाएको छ ।

भारतको मुम्बई, गुजरात, पन्जाब, लखनउ, कानपुर, दिल्ली र जयपुरलगायतका सहरबाट आउनुभएका पर्यटन व्यवसायीलाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शे–फोक्सुण्डो, कर्णालीको जलयात्रालगायत पश्चिम नेपालका पर्यटकीय स्थल र नेपालगञ्जका क्यासिनोको भ्रमण गराउने कार्यक्रम रहेको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भन्ने विषयमा सातवटै प्रदेशबाट आएका करिब सय जना पर्यटन व्यवसायीसँग भारतीय पर्यटकको अन्तरक्रिया र छलफल भइरहेको उहाँले बताउनुभयो । भारतीय पर्यटन व्यवसायी अनुज सिंहले यो मार्ट अति नै सही समयमा गरिएको धारणा व्यक्त गर्दै यसबाट पर्यटन व्यवसायमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले भारतबाट आएका यति धेरै व्यवसायीले गर्दा अब ठूलो सङ्ख्यामा यस क्षेत्रमा भारतीय पर्यटक आउने निश्चित भएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले यस्ता मार्ट सबै प्रदेशमा गरिने जनाउँदै यसबाट भारतीय पर्यटक ल्याउन सहयोग पुग्ने बताउनुभयो । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस् नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन व्यवसायको विकासका लागि भारतीय पर्यटक सबैभन्दा ठूलो सम्भावना रहेको जनाउँदै सोही उद्देश्यका लागि यो मार्ट आयोजना गरिएको बताउनुभयो ।

तीन दिनसम्म चल्ने ‘वेस्टर्न ट्राभल मार्ट” बिहीबार सुरु भएको हो । भारतीय पर्यटकलाई आकर्षित गर्ने तथा सूचना दिने ५० भन्दा बढी स्टल राखिएका छन् । मार्टमा आएका भारतीय अतिथिका लागि विमान कम्पनी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले विशेष प्याकेज तयार पारेर ल्याएको र ती प्याकेजको प्रचारप्रसार र बिक्री गरिने सहभागीले जनाएका छन्। 

-गोरखापत्र