पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ पर्नुभएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उहाँलाई पक्राउ गरिएको जानकारी नेपाल प्रहरीका सह प्रवक्ता भुपेन्द्र खत्रीले गोरखापत्र अनलाइनलाई दिनुभयो । 

 उहाँलाई अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौं परिसर टेकुमा लगिएको जानकारी पनि सह प्रवक्ता खत्रीले दिनुभयो । 

सांसद रायमाझी गृह जिल्ला अर्घाखाँचीमा रहेकै बेला फक्राउ पुर्जी जारी भएको खबर पाएपछि उहाँ काठमाडौं फर्कने क्रममा फरार हुनुभएको थियो । 

नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनु भएको थियो । 

प्रनिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै र्वैशाख २० गते बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुनुभएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन हुनुभएको हो।

रायमाझीले प्रयोग गर्दै आएको प्रदेश–३–०१–०२२ च–०५८२ नम्बरको टाटा हेक्सा गाडी २१ गते बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएको थियो । सो गाडीमा रायमाझी आफैँ काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा गरेकोमा काठमाडौँ आइपुग्दा भने गाडीमा चालक मात्र रहेको पाइएको प्रहरीको दाबी थियो । 

यसअघि नेकपा (एमाले) का सचिवसमेत रहनु भएका टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट उहाँहरू विरुद्धको पक्राउ पुर्जी लिएको हो। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उहाँहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। 

यही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव  टेकनारायण पाण्डेलगायत पक्राउ हुनुभएको छ।