काठमाडौँ / नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ का सचिव विनोद चालिसेले एकै साथ २ वटा कृति सार्वजनिक गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारि सोमबार एक विशेष कार्यक्रमको आयोजना गर्दै २ कृति सार्वजनिक गरेका हुन् ।मित्रपार्क स्थित आर.बि होम पार्टी प्यालेसको हलमा गरिएको कार्यक्रममा ‘तिम्रो आँखाको आकाश’ कविता सङ्ग्रह र गीति एल्बम ‘मनको धुन’ विमोचन गरेका हुन् ।काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित संघिय सांसद गगन कुमार थापाको प्रमुख आतिथ्ययतामा गरिएको विमोचन कार्यक्रमलाई पैरवी बुक हाउसका संस्थापक चन्द्र सिवाकोटीले कार्यक्रम सभापतिको भूमिका निर्वाह गरेका थिए ।कार्यक्रममा संघिय सांसद दिव्यमणि राज भण्डारी, साहित्यकार श्रवण मुकारु, संगीतकार सुरेश अधिकारी, प्राध्यापक प्रयाग राज भट्टराई, वरिष्ठ पत्रकार एवं मानबअधिकारवादी पुरुषोत्तम दाहाल, बागमती प्रदेशका सदस्यहरू, स्थानीय राजनीतिकर्मी लगायत साहित्यसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको स्वागत मन्तव्य राख्दै लेखक विनोद चालिसेले आमन्त्रित सम्पूर्णमा स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णमा आभार व्यक्त गरेका थिए । उनले भने–‘लेख्ने कोसिस गरिरहेको छु मेरा कविताहरू पढेर, गीतहरू सुनेर भोलिका दिनमा पाठक, समीक्षकहरूले दिनुभएको प्रतिक्रिया, सुझावहरूलाई आत्मसाथ गर्दै अगाडीको मार्गचित्र तयार गर्नेछु ।’
कविता तथा गीत सङ्ग्रह प्रकाशन गर्ने क्रममा प्रकाशक, भूमिका लेखिदिनुहुने साहित्यकारहरू लगायत सबै महानुभाव प्रति हृदयदेखि हार्दिक कृतज्ञ छु ।
ब्रह्माण्ड भित्र कविता एउटा बेग्लै संसार हो र कवि भित्र एउटा ब्रह्माण्ड हुन्छ । चालिसे भन्छन्–‘तलाउको पानीमा झलमलाई रहेको चन्द्रमा जस्तो त्यही तस्बिरको प्रतिविम्ब हो कविता ।’
प्रकृतिको गर्वबाट चिहाएर हेर्छु यिनै हातद्वारा कविता, गीत कोरिन्छन् तर सिकाउँछ कविता, गीत थाहा छ्र्रैन । चालिसेले भने–‘कसले दिन्छ नवीन र अक्षत बिम्बहरू, कसले दिन्छ एउटा मौन र अर्थपूर्ण लिपि थाहा छैन ।’कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले लेखक चालिसेको साथीको नाताले आफू कार्यक्रममा उपस्थित भएको बताए । उनले भने–प्रदीप गिरि दाईलाई पनि यसको निम्तो दिएका थियौँ । प्रदीप दाइको घरमै गएर कविता सङ्ग्रह दिएको थिए । श्रवण दाइ पनि आउनु हुन्छ र प्रदीप दाइ पनि बोलाउने सोच थियो । प्रदीप दाइ पहिला पढ्छु र आउने, नआउने भन्छु भन्नुभएको थियो । कविता पढी सके पछि केही दिनमा म आउँछु भन्नु भएको थियो । तर कोभिडको कारण कार्यक्रम गर्न पाइएन । अहिले कार्यक्रम गर्दै गर्दा प्रदीप दाइ स्वास्थ्य उपचारको क्रममा हुनुहुन्छ । कार्यक्रमबाट नै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।यस्तै गीति सङ्ग्रहमा ५ गीतलाई समावेश गरिएको छ । उक्त गीतमा सङ्गीत शशिविक्रम थापाकाे रहेका छ । गीतमा स्वरूपराज आचार्य, मेलिना राई, शशिविक्रम थापा, ज्ञानेन्द्र कार्की, कृष्णहरि खड्काले स्वर दिएका छन् ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको विमोचन कार्यक्रम बेलुका ३ः३० बजेसम्म चलेको थियो ।