काठमाडौं, जेठ २५ गते । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा  नेपालले आज (बुधबार) राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाविर अल अहमद स्टेडियममा राति १ः०० बजे सुरु हुने खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ ।

बलियो जोर्डनविरुद्ध खेल्दा नेपाली टोलीमा नियमित कप्तान एवं गोलरक्षक किरण चेम्जोङसहित ११ जना सिनियर खेलाडी छैनन् । त्यसको मार नेपाललाई पर्ने देखिन्छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग असन्तुष्टि जनाउँदै १० जना सिनियर खेलाडीले प्रशिक्षण क्याम्प छाडेपछि प्रशिक्षक अलमुताइरीले टोलीमा नयाँ खेलाडी समावेश गरेर कुवेत जानुभएको छ ।

यद्यपी प्रशिक्षक अलमुताइरीले जोर्डनसँग दबाबरहित प्रदर्शन गर्ने बताउनुभएको छ । ‘हामीलाई कुनै दबाब छैन । समूहमा हामी ४ पोर्टको राष्ट्र हौं । हामी कुनै पनि दबाब नलिई खेल्नेछौं । जोर्डनविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण छ । राम्रो नतिजाका लागि हामीले केही गर्न आवश्यक छ,’ खेलअघि पत्रकार सम्मेलनम  अलमुताइरीले भन्नुभयो । उहाँले अहिलेको टोलीमा ११ जना खेलाडी औसत २१ वर्षका भएकोले यो टोली सन् २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको बताउनुभयो । 

किरणको स्थानमा कप्तानको जिम्मेवारी पाउनुभएका नवयुग श्रेष्ठले जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । जोर्डन हामीभन्दा बलियो भएपनि हामी राम्रो खेल्नेछौं, उहाँले भन्नुभयो । फिफा वरीयतामा नेपाल १६८औं स्थानमा छ भने जोर्डन ९१औं स्थानमा छ ।


यसअघि दुई टोलीबीच चार पटक भिडन्त भएको थियो । जसमा जोर्डनले तीन खेल जितेको थियो । एक खेल भने बराबरीमा सकिएको थियो । कुवेत जानुअघि नेपालले कतारको दोहामा १० दिन थप तयारी सँगै तीनवटा मैत्रीपूर्ण खेल खेलेको थियो । एएफसी एसियन कप छनोटमा समूह ‘ए’ मा रहेको नेपालका लागि यो तुलनात्मक रुपमा कठिन समूह हो ।

यस समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छ । नेपालले समूहको दोस्रो खेल २८ गते कुवेतसँग र अन्तिम खेल ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछन् ।