ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका-६ का २३ वर्षीय अनिल मगर र ५९ वर्षीय निमबहादुर मगर रहेका छन् ।

फरक–फरक मिति र समयमा ती किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ईश्वर अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार आरोपित दुवै जनालाई शनिबार सिद्धिचरण नगरपालिका–११ को रमाइलोडाँडा र रामबजार क्षेत्रबाट पक्राउ गरिएको हो ।

घटनाबारे अनुसन्धानका क्रममा पीडित किशोरी गर्भवतीसमेत रहेको खुलेको छ । प्रहरीले दुवै आरोपीलाई आइतबार ओखलढुङ्गा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।