गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२, दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्याङ्जाको चिरकोटबाट राक्सेतर्फ जाँदै गरेको बी एए ०२२० नम्बरको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको सिरकोट घर भई हाल स्याङ्जाको वालिङमा बस्ने लोकनाथ पाण्डे, बुटवल बस्ने सीता पाण्डे र खैरेनी बस्ने कुलानन्द पाण्डे रहेका छन्। उपचारका क्रममा मृत्यु हुनेमा वालिङ–२ की नीता बगाले रहेकी छन्।

दुर्घटनामा घाइते भएका गुल्मीको सिरकोट निवासी छविलाल पाण्डेको मिर्मीस्थित अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, स्याङ्जाको वालिङ निवासी गोमता पाण्डेलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको छ। उनको अवस्था मध्यम रहेको छ। वालिङ–१० का बालकृष्ण सुवेदीको उपचार मिर्मीस्थित अस्पतालमै भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ पुर्तिघाट प्रहरी चौकी, इलाका प्रहरी कार्यालय रिडी तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्धारका लागि परिचालन गरिएको थियो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।