बागलुङ : पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको हत्या आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीहरूले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–१ का २० वर्षीय रेमबहादुर बिक१९ वर्षीय सुदीप बिक१६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियार रहेका छन्।

प्रहरीका अनुसार लजिन साउन १ गते शुक्रबार साँझ साथी असिम वनको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका थिए। त्यसपछि सम्पर्कविहीन भएका उनको शव नौ दिनपछि शनिबार बिहान करिब ९:१५ बजे बडिगाड–१ स्थित मनखोलामा फेला परेको थियो।

अनुसन्धानका क्रममा घटनाको अघिल्लो रात लजिनसहित छ जना साथीहरूले बडिगाड–१ स्थित दगाम्तुम्डाँडा प्राथमिक विद्यालय परिसरमा बसेर शनिबार बिहान करिब २:३० बजेसम्म मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार बिहान करिब ४ बजेतिर घर फर्किने क्रममा आइफोन मोबाइलको विषयलाई लिएर विवाद भएको थियो।

प्रहरीका अनुसार विवाद चर्किएपछि आइफोन लुट्ने उद्देश्यले लजिनमाथि मुक्का तथा ढुङ्गा प्रहार गरिएको र त्यसक्रममा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

घटनापछि आरोपीहरूले लजिनको शव मनखोलामा लगेर लुकाएको तथा मोबाइल आफूसँग राख्दा प्रहरीलाई शङ्का हुन सक्ने भन्दै मृतककै साथमा छाडिदिएको प्रारम्भिक बयानमा स्वीकार गरेको प्रहरीले जनाएको छ।

शव फेला पर्नुअघि नै व्यक्ति बेपत्ता पार्ने आशङ्कामा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको थियो। शव फेला परेपछि उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

मृतक लजिन थापा काठमाडौंमा आफ्ना ठूला बुवासँग बस्दै साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत थिए। परीक्षा सम्पन्न भएपछि नागरिकता बनाउने उद्देश्यले घर आएका उनी आफ्ना आमाबुवा बोमबहादुर थापा र देउमाया थापाका एक्ला छोरा थिए।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।