चीनमा कार्यरत एकजना नेपाली वैज्ञानिकले चीनकै प्रतिष्ठित राष्ट्रिय स्तरको अनुसन्धान ‘ग्रान्ट’ प्राप्त गर्नुभएको छ। झापाको महारानी झोडाका डा.जनकलाल पाठकलाई चीनको राष्ट्रिय प्राकृतिक प्रतिष्ठानले यस वर्षको विदेशी युवा अनुसन्धान अनुदान प्रदान गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

चीनको क्वाङ्चौ चिकित्सा विश्वविद्यालयमा सहप्राध्यापकका रुपमा कार्यरत पाठकले ६ पटकको प्रयासपछि यस्तो उपलब्धि हासिल गरेको सुनाउनुभयो। पाठक विगत ४ वर्षदेखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा कार्यरत हुनुहुन्छ।

क्याथोलिक विश्वविद्यालय लुभेन बेल्जियम र भ्रिज विश्वविद्यालय एम्स्टर्डम नेदरल्यान्डबाट विद्यावारिधि गर्नु भएका पाठक विगत ६ वर्षदेखि चीनमा स्टेम सेलमा आधारित हड्डी पुनर्जनन(बोन रिजेनेरेसन)को अनुसन्धान गरिरहनु भएको छ।

युनिभर्सिटीमा मास्टर, पीएचडी, पोस्ट डक रिसर्चलगायत ग्रुपका प्रमुख पनि रहेका छन्। चीनमा सहर तह, प्रान्तीय तह र राष्ट्रिय तहका ग्रान्ट रहेकोमा एक मात्र नेपालीको रुपमा उहाँले ४ लाख चिनियाँ युआनको २ वर्षे रिसर्च ग्रान्ट पाउनु भएको हो। ‘प्राप्त ग्रान्टले २, ४ जनालाई पीएचडी गराउन र केही प्याटेन्ट लिन सकिन्छ, तर त्यो भन्दा पनि राष्ट्रिय तहको प्रथम श्रेणीको ग्रान्ट पाउनु नै महत्त्वपूर्ण खुट्किलो पार गरेको जस्तो लागेको छ’, उहाँले भन्नुभयो। सम्बन्धित क्षेत्रका नेपाली अनुसन्धाताहरू इच्छुक भएमा यथोचित सहयोग गर्न सकिने सम्भाव्यता औंल्याउँदै उहाँले कैयौं विदेशीहरूबीच प्रतिष्पर्धा जित्न सकेकोमा नेपाली हुनुको हिसाबले गौरवान्वित भएको बताउनुभयो। यसैवर्ष चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबाट पाठकले विदेशी युवा वैज्ञानिकको पदक पनि प्राप्त गर्नु भएको छ।-CRI