‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । उनी तीन दिनको कार्य तालिका मिलाएर नेपाल आएकी हुन् ।

मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा नेपाल आउने उनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु जाने छिन् । उनीसँगै मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आएका छन् । उनीहरू मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्न र नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न नेपाल आएका हुन् ।

मिस वर्ल्ड टोनी टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु पुगेर निर्माणाधीन हिमालय ग्रेट ट्रेल अवलोकन गर्नेछिन् भने हेलम्बुकै सोल्सिङ गाउँमा अनुष्काले गरिरहेको प्रोजेक्‍ट पनि हेर्नेछिन् । त्यसपछि टोनी मकवानपुर पुग्नेछिन् र पूर्व मिस नेपाल शृङ्खला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्नेछिन् ।

मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोस’को लागी दुवै मिस नेपालहरूले आफूले सञ्चालन गरेको प्रोजेक्टको भिडियो बनाएका थिए ।

(सिनेपाटी)