भारतीय फुटबल संघलाई विश्व फुटबलको सर्वोच्च संस्था विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाएपछि दक्षिण एसियाली फुटबल (साफ) मा तरंग पैदा भएको छ ।

फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै मंगलबार भारतमाथि प्रतिबन्ध लगाएको हाे । सन् १९४८ मा फिफाको सदस्यता पाएको भारत पहिलो पटक प्रतिबन्धमा परेको हो । 

फिफाले यसअघि एआईएफएफमा फिफाको विधान विपरीत कार्य हुँदै आएको भन्दै चेतावनी दिएको थियो । फिफाले एआईएफएफलाई स्वतन्त्र निर्वाचन गराउन निर्देशनसमेत दिएको थियो । तर, भारतको सर्वोच्च अदालतले प्रफुल पटेल नेतृत्वको एआईएफएफ कार्यसमिति भंग गरेर पूर्वन्यायाधीश एआर डेभको नेतृत्वमा तीन सदस्यीय नयाँ समिति बनाएको थियो ।

अदालतले सोही समितिलाई फुटबलको सबै काम गर्ने जिम्मेवारी दिएको थियो । फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउने वातावरण नदिएपछि फिफाले भारतमाथि प्रतिबन्ध लगाएको हो । यस प्रतिबन्धले भारतले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न र सहभागिता जनाउन पाउने छैन ।

दक्षिण एसियाली फुटबलको पावर हाउस मानिएको भारतमाथिको प्रतिबन्धले साफमा आवद्ध देशलाई पनि तरंगित बनाएको छ । यस प्रतिबन्धले नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपमा समेत भारतको सहभागिता रहने छैन । 

यस हिसाबले नेपाललाई उपाधि जित्न सहन बन्ने देखिन्छ । नेपालको हरेक उपाधि यात्रामा तगारो बन्दै आएको भारतलाई प्रतिबन्धपछि साफ फुटबलमा विभिन्न टिका टिप्पणी सुरु भएका छन् । कतिपय नेपाली सर्मथकले अब प्रतियोगिता जितिन्छ भन्दै सामाजिक सञ्चालमा खुशी मनाएका छन् । केहीले भने बलियो प्रतिद्वन्द्वीसँग खेल्न पाउनु र खेलेरै उपाधि जित्नु उपयुक्त हुने प्रतिक्रिया दिएका छन् । 

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं प्रशिक्षक राजुकाजी शाक्य भारतमाथिको प्रतिबन्धले साफ फुटबललाई दुःखी बनाएको बताउनु भयो । ‘भारतलाई प्रतिबन्ध गर्दा नेपालले केही उपाधि त जित्ला । तर, उपाधि जित्दैमा फुटबल माथि जान्छ भन्नु गलत हो । उपाधिले क्षणिक खुशी दिए पनि बलियो प्रतिद्वन्द्वीलाई हराएर उपाधि जित्ने सोच बनाउन आवश्यक छ,’ शाक्यले भन्नुभयो। 

फुटबलमा सरकार वा तेस्रो पक्षको हस्तक्षेपलाई फिफाले नमान्ने कुरालाई दक्षिण एसियाका सबै देशले मनन गर्नु पर्ने पनि शाक्यको भनाइ छ । केही समय अघिसम्म फिफाले पाकिस्तान फुटबल संघलाई पनि प्रतिबन्ध गरेको थियो । 

फिफाको यस निर्णयसँगै भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अन्योलमा परेको छ । अब यस विश्वकप अन्यत्र सर्नेछ । फिफाले यू–१७ महिला विश्वकप आयोजना स्थल परिवर्तन गरेपछि भारतले भाग लिन पाउने वा नपाउने निर्णय गरिसकेको छैन ।

यसअघि भारतले छनोट चरण पार गरेर नभई यू–१७ महिला विश्वकप आयोजकको नाताले सहभागिताको मौका पाएको थियो । फुटबलमा ठूलो भौतिक संरचना र लगानी भएको भारतमाथि फिफाको प्रतिबन्धले साफमा आवद्ध अन्य देशको फुटबल गतिविधिमा समेत असर पर्ने देखिएको छ ।