नेपालका मुआथाई खेलाडी वरुण घले गुरुङले थाइल्यान्डमा आयोजित मुआथाई प्रतियोगीतामा ह्याट्रिक गरेका छन् ।

थाइल्यान्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले लगातार तेश्रो पटक थाई फाइटरलाई हराउँदै ह्याट्रिक गरेका हुन् । गुरुङले बैंककमा आयोजित केएटी रोड शो इपिशोडमा किक बक्सिङ रुल्समा थाई फाइटरमाथि टेक्निकल नकआउट (टिकेओ)मार्फत् लगातार तेश्रो जित निकाल्न सफल बनेका छन् ।

नेपालबाट थाइल्यान्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका गुरुङले गत माघ ६ गते थाइल्यान्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका थिए । यस्तै, थाइल्यान्डको पटायाको म्याक्स मुआथाइ रंगशालामा गत माघ २९ गते राति भएको म्याक्स मुआथाई फाइटमा गुरुङले राउण्ड वानको पहिलो ४० सेकेण्डमा थाई फाइटरलाई हराउँदै टिकेओमार्फत् दोश्रो जित हासिल गरेका थिए ।

नेपालको इरावान मुआथाई फाईट जिममा तालिम र कोचिङ गर्दै आएका उनले हाल थाइल्यान्ड बैंककस्थित मेड मुआथाई जिममा तालिम लिइरहेका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।