राजधानीमा जारी त्रिकोणात्मक टि २० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पाँच विकेटले पराजित गरेको छ । 

युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिनुभयो । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ४० रन जोड्नुभयो । 

नेपालले सुरुवाती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाउनुभएको थियो ।  तर कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्किनुभएको  थियो । 

यूएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान एक-एक विकेट लिनुभयो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनानुभयो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५-४५ रनको योगदान दिनुभयो । त्यस्तै आसिफ खानले १८ रन बनाउनुभयो । 

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई-दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिनुभयो । नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ । रासस