थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रबार शाही मानहानिको आरोपबाट निर्दोष ठहर हुनुभएको छ । यसले दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उहाँको परिवारलाई परेको ठूलो दबाब हटाएको छ ।

थाक्सिनको परिवार लामो समयदेखि सेना समर्थक र राजतन्त्र पक्षधर अभिजात वर्गसँग टकरावमा रहँदै आएको छ । यी अभिजात वर्गले थाक्सिनको लोकप्रियतावादी आन्दोलनलाई थाइल्यान्डको परम्परागत सामाजिक संरचनाका लागि खतरा ठान्दै आएका छन् ।

सधैँ राज्यसत्ता कब्जाको सङ्घर्ष चलेको थाई राजनीतिमा उनीहरूको भूमिका विद्रोह, सडक प्रदर्शन र अदालतका मुद्दाहरूको कथामा प्रस्ट देखिएको छ ।

छयत्तर वर्षीय थाक्सिनलाई राजा महा भाजिरालोङ्गकोर्न र उहाँको परिवारविरुद्ध आलोचना गर्ने कानूनअनुसार १५ वर्षसम्म कैद हुन सक्थ्यो । तर दुई महिनाभन्दा बढी चलेको सुनुवाइपछि उहाँ निर्दोष ठहर हुनुभयो ।

उहाँका वकिल विन्यात च्याटमन्ट्रीले बैङ्ककस्थित फौजदारी अदालतमा पत्रकारलाई भन्नुभयो, “अदालतले प्रमाण पर्याप्त नभएको ठहर गर्दै आरोप खारेज गर्‍यो ।”

तर उहाँको परिवार अझै सङ्कटमा छ । उहाँकी छोरी पेटोङ्टार्न सिनावात्रा हाल प्रधानमन्त्रीको पदबाट निलम्बनमा हुनुहुन्छ । उहाँले अर्को हप्ताको अदालतको फैसला पछि पद गुमाउनु पर्ने सम्भावना छ ।

अदालतबाट मुस्कुराउँदै निस्कनुभएएका थाक्सिनले पत्रकारलाई छोटकरीमा भन्नुभयो, “मामिला खारेज भयो ।”

उहाँको समर्थनमा करिब एक सय ५० मानिस भेला भएका थिए । तीमध्ये ६६ वर्षीय खाना विक्रेता कमल ओराहन्तले भन्नुभयो, “अदालतले राम्रो काम गर्‍यो । तर उहाँलाई अन्य तरिकाले परास्त गर्न खोज्ने केही विरोधीहरू अझै छन् भन्ने मलाई लाग्छ ।”

यो मुद्दा थाक्सिनले दशकौँ अघि दक्षिण कोरियाली मिडियामा दिनुभएको टिप्पणीबाट सुरु भएको हो । ती टिप्पणी उहाँले आफ्नी बहिनी यिङलकलाई सन् २०१४ मा अपदस्थ गर्ने सैन्य कूसँग जोडिएका थिए ।

लेज–माजेस्टे कानून यति कडा भएकाले, एएफपीले थाक्सिनका ती भनाइहरू उद्धृत गरेर रिपोर्ट गर्न सकेको छैन, किनभने त्यसो गर्दा आफैँमा आपराधिक आरोप लाग्न सक्छ ।

– वर्षौंको सङ्घर्ष –

सन् २००० को दशकमा दुई पटक प्रधानमन्त्री बनेका थाक्सिन सैन्य कूपछि अपदस्थ हुनुभयो र करिब १५ वर्ष निर्वासनमा बस्नुभयो । अन्ततः सन् २०२३ अगस्टमा उहाँ थाइल्यान्ड फर्किनुभयो ।

उहाँ फर्किएको दिन नै उहाँको परिवारको फेउ थाई पार्टीले पुराना विरोधीहरूसँग मिलेर गठबन्धन सरकार गठन गरेको थियो । यसलाई धेरैले गुप्त सम्झौतासँग जोडेर हेरेका थिए ।

थाक्सिन फर्किएलगत्तै भ्रष्टाचार र पदको दुरुपयोगका मुद्दामा उहाँलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । तर जेलमा राख्नुको सट्टा स्वास्थ्य समस्याका कारण उहाँलाई प्रहरी अस्पतालको निजी कोठामा राखियो ।

छिट्टै राजाले सजाय घटाएर एक वर्षमा पु¥याउनुभयो । त्यसपछि वृद्ध कैदीहरूको प्रारम्भिक रिहाइ कार्यक्रममा सन् २०२४ फेब्रुअरीमा उहाँ स्वतन्त्र हुनुभयो ।

तर यसरी छुटेका कारण अब अर्को कानूनी विवाद चर्किएको छ । आलोचकहरूले उहाँ जेलको कोठरीमा कहिल्यै नबसेको र छिट्टै छुट्न योग्य नभएको दाबी गरेका छन् । यो मुद्दा सेप्टेम्बर ९ मा टुङ्गिनेछ ।

थाइल्यान्डमा लेज–माजेस्टे कानूनलाई आपराधिक संहितामा धारा ११२ भनिन्छ । विशेष गरी सन् २०२० को सरकारविरोधी आन्दोलनपछि यसअन्तर्गत मुद्दा दर्ता तीव्र रूपमा बढेका छन् । केही प्रदर्शनकारीहरूले राजतन्त्रको खुलेर आलोचना गरेका थिए ।

थाई मानव अधिकार वकिलहरूको समूहका अनुसार विगत पाँच वर्षमा मात्रै धारा ११२ अन्तर्गत दुई सय ८० भन्दा बढी व्यक्तिमाथि मुद्दा दायर भएको छ ।

यस कानुनअनुसार राजा, रानी, उत्तराधिकारी वा राजप्रतिनिधिलाई अपमान गर्ने, बदनाम गर्ने वा धम्की दिने जो कोहीलाई १५ वर्षसम्म कैद हुनसक्छ ।

मानव अधिकार समूह र आलोचकहरूका अनुसार यो कानूनलाई अहिले यति व्यापक रूपमा प्रयोग गरिएको छ कि असहमति र वैध बहसलाई दबाउने हतियार बनाइएको छ ।