नारायणगढ बुटवल सडकको दाउन्ने खण्डमा अबको दुई महिनासम्म सडक एकतर्फी हुने सडक विभागले जनाएको छ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्टहरुको निर्माण कार्य सम्पन्न नहुदा सम्म पौस १५ गतेसम्म एकतर्फी सडक संचालन हुने जनाएको हो । विगत केही दिनयता भएको वर्षातको कारण निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई भइरहेको छ ।

आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना देखिएको भन्दै निर्देशनालयले सूचना जारी गर्दै सडकको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ । कल्भर्टहरुको निर्माण कार्य सम्पन्न नहुदा सम्मको लागि करिब दुई महिना आगामी पौस १५ सम्म दाउन्ने सडक खण्डको यात्रा गर्नुअघि सडकको अवस्था बारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको हो । साथै यस खण्डमा अवरोध भएमा वैकल्पिक बाटोको प्रयोग गर्न सकिने समेत जनाएको छ ।