काठमाडौं — काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि एक युवाले आत्मदाह प्रयास गरेका छन्। प्रहरीले उनको पहिचान मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीका रूपमा गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनापछि घाइते नेपालीलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ। उनको शरीरको करिब ६५ प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हाल उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गणेश नेपालीले राहदानी विभाग बाहिर आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। त्यसपछि नगर प्रहरीको टोलीले उक्त मोटरसाइकलमा ह्विल लक लगाएको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाह प्रयासको कारणबारे अनुसन्धान भइरहेको छ। "मोटरसाइकलमा ह्विल लक लगाइएको विषयसँग घटनाको सम्बन्ध छ वा अन्य कुनै कारणले यस्तो घटना भएको हो भन्ने विषयमा अनुसन्धान जारी छ," उनले बताए।
घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृयाहरु