नेपाल मौसम विज्ञान विभागको अत्यधिक वर्षा र हिमपातको सूचनालाई मध्यनजर गदैं जिल्ला प्रशासन कार्यालय मुस्ताङले कात्तिक १३–१५ गतेसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ । आगामी शुक्रबारदेखि शनिबारसम्म हिमाली क्षेत्रमा हिमपातको सम्भावनालाई मध्यनजर गदैं उक्त समयमसम्म पदयात्रामा निस्कन पर्यटकलाई सूचना प्रवाह गरिएको छ । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलले दसैँ तिहारको बिदाको समयमा मुस्ताङ भ्रमणमा आउने स्वदेशी पर्यटक तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिलमार्फत अनुरोध गरिएको बताउनुभयो । प्रजिअ पोख्रेलले भन्नुभयो,‘‘बर्षासँगै हिमपात हुने सूचीमा गण्डकी प्रदेश रहेको छ, मौसम तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोला ।’’ प्रजिअ पोख्रेलका अनुसार मौसमको अवस्था हेरी भारी बर्षा भएमा ७६ किलोमिटर दूरीको जोमसोम–बेनी सडकखण्डलाई समेत रातको समयमा बन्द गर्ने तथा छिमेकी जिल्ला म्याग्दीसँग समेत समन्वय गर्ने बताउनुभयो । गत भदौ महिनामा नदी कटानका कारण सडकखण्डको करिब ३० किलोमिटर बाढीपहिरोको उच्च जोखिममा रहेको छ । 

यसैबिच मुस्ताङमा प्रवेश गर्ने मुस्ताङ–मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास, थोराङ्ला पास, मुस्ताङ–डोल्पा जोड्ने याकखर्क तथा म्याग्दी–मुस्ताङ जोड्ने धौलागिरि पदमार्गअन्तर्गत धम्पुस पिकमा पदयात्रा गर्न निस्किन पर्यटकलाई सचेत बनाउन अन्न्पूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोम र लोमन्थाङलाई अनुरोध गरिएको छ । याकखर्क पाँच हजार आठ सय मिटर, थोराङ्ला पास पाँच हजार चार सय मिटर, सरिबुङ पास छ हजार मिटर र धम्पुस पिक समुद्र सतहदेखि पाँच हजार एक सय मिटर उचाइमा रहेका छन् । पाँचवटै पदमार्गमा बाह्रै महिना हिमपात हुन्छ । 

बाढीपहिरो, हिमपातका कारण पर्यटक तथा स्थानीयलाई समस्या पर्न सक्ने अवस्थालाई मध्यनजर गदैं जिल्ला सुरक्षा समितिले स्थानीय तहलाई विपद्को जोखिम भए तत्काल पूर्वतयारीमा जुट्न, सुरक्षा निकायले समेत आपतकालीन तयारी तथा प्रादेशिक अस्पताल जोमसोमसहित स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।