प्रतिपक्षी दलका सांसदले नेपालले भारतको भूभाग मिचेको विषयको प्रमाण संसद्मा पेस गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा आज (सोमबार) धारणा राख्दै सांसदहरूले सो माग गरेका हुन् ।
राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले देशको सार्वभौम विषय र भूमिको विषय गम्भिर विषय भएकाले हचुवाको भरमा अभिव्यक्ति दिनु गलत हुने उहाँले बताउनुभयो । उहाँले सभामुख डोलप्रसाद अर्याल मार्फत सरकारलाई नेपालले मिचेको भूमिको प्रमाण पेस गर्न आग्रह गर्नुभयो ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा राख्नुभएको धारणा गम्भिर रहेकाले त्यस विषयको प्रमाणसहित जवाफ दिन माग गर्नुभयो । उहाँले जवाफ नदिएसम्म बैठक सुचारु हुन नदिने बताउनुभयो ।
नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले ठुलो सङ्घर्ष र बलिदानीले ल्याइएको उपलब्धि भएकाले त्यसको खिलापमा जाने छुट कसैलाई नभएको भन्दै प्रधानमन्त्रीले राख्नुभएको भूमि मिचिएको धारणा संवेदनशील भएकाले जवाफ दिन माग गर्नुभयो । नेपालले भारतीय भूमि मिचेको विषय भारतले दाबी नगरेको अवस्थामा देशकै प्रधानमन्त्रीले त्यस्तो धारणा राख्नु देशको हित विपरित भएको उहाँले टिप्पणी गर्नुभयो । ‘प्रधानमन्त्रीज्यूले बोल्नुभएको धारणा संसद् रेकर्डबाट हटाइयोस्’ उहाँले माग गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राणा मगरले प्रतिपक्षी सांसदहरूले राख्नुभएको धारणा नियमावली विपरित रहेकोभन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
नेकपाका सचेतक युवराज दुलालले देशकै कार्यकारी प्रमुखले कुटनीतिक भावना विपरित धारणा राख्नुभएको बताउँदै सच्याउन माग गर्नुभयो । प्रधानमन्त्रीको धारणाले देशवासीमा गम्भिर आशङ्का पैदा गरेको उहाँले टिप्पणी गर्नुभयो । विपक्षी दलका सांसदहरूले बैठक अगाडि नबढाउन सभामुखसँग आग्रह गर्नुभएको छ ।

प्रतिकृयाहरु