नेपालगञ्ज, भदौ ६ गते । नेपालको भूमिबाट पनि चीनको मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिने भएपछि अहिले नेपाली पर्यटन व्यवसायीहरू नेपालबाटै स्वदेशी र विदेशी पर्यटकलाई कैलाश मानसरोवरको दर्शन गराउने अभियानमा लागेका छन् ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६, लिमी लाप्चा भञ्याङबाट मानसरोवर कैलाश दर्शन गर्न सकिने भएपछि पर्यटन व्यवसायीले भारत र नेपालका पर्यटकलाई त्यहीबाट मानसरोवर दर्शन गराउन थालेका छन् ।

कोभिड–१९ का कारण हिल्सा नाका बन्द गरिएकाले चीनको मानसरोवर कैलाश दर्शन गर्न जानसक्ने अवस्था नभएपछि हुम्लाको लिमी लाप्चासम्म पर्यटक लगेर त्यहाँबाटै दर्शन गराउने तयारी गरिएको ट्रेकर सोसाइटी ट्राभल्सले जनाएको छ । त्यसका लागि ६० जना विदेशी पर्यटकलाई पहिलो खेपमा भदौ २४ गते नेपालगञ्ज भएर लिमी लाप्चा लैजान लागेको ट्रेकर सोसाइटी ट्राभल्सका नेपालगञ्जस्थित प्रमुख टकला रावतले बताउनुभयो । स्वास्थ्य मापदण्डको पालना गरेर पीसीआर परीक्षण गराई खोपसमेत लगाइसकेका पर्यटकलाई मात्र लिमी लाप्चा लैजान लागेको रावतले बताउनुभयो ।

उहाँले सो अभियानमा सहयोग गर्नका लागि शनिबार नेपालगञ्जबाट ट्राभल्सका १९ जना र सुर्खेतबाट २८ जना गरी ४७ जना कर्मचारीलाई हुम्ला पठाइएको बताउनुभयो । लिमी लाप्चा लैजाने विदेशी पर्यटकलाई काठमाडौँबाट नेपालगञ्ज ल्याएर यहाँबाट हवाई मार्गमार्फत हुम्ला पु¥याइने र त्यहाँबाट पैदलै लाप्चासम्म पु¥याएर मानसरोवर दर्शन गराइने ट्रेकर सोसाइटी ट्राभल्सले जनाएको छ ।
दुई वर्ष पहिलेसम्म प्रत्येक वर्ष सातदेखि १० हजारसम्म भारतीय धार्मिक पर्यटक हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्ने जाने गरेका थिए तर कोभिड–१९ का कारण दुई वर्ष पहिले सो यात्रामा रोक लगाइएको थियो भने चीनले हिल्सा नाका बन्द गरेको थियो ।

चीनको मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि नेपालकै लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या भने बढेको सो ट्राभल्सले जनाएको छ । नेपालबाटै कैलाश मानसरोवर दर्शन गराउने कार्य सुरु गरिएको थाहा पाएर नेपालगञ्जका स्थानीय होटल व्यवसायी खुसी भएका छन् ।

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले हुम्लाबाटै मानसरोवर दर्शनको प्रचारप्रसार भारतमा राम्ररी गर्न सकिए भारतीय पर्यटक आगमन फेरि बढ्ने र नेपालगञ्जका होटल फस्टाउने बताउनुभयो । यसैगरि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवरको दर्शन गराउने कार्यको स्वागत गर्दै यसले यहाँको पर्यटन क्षेत्रलाई माथि उकास्न ठूलो सहयोग गर्ने विश्वास गरेको छ । 

-गोरखापत्र