काठमाडौं, पुस १३ गते । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सकिएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मङ्गलबार बिहान बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र अन्य नेताहरुले पेश गर्नुहुने सहायक प्रस्तावलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सुरेश रेग्मीले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएको छ । छुट्टाछुट्टै स्थानमा भइरहेको छलफल मङ्गलबार दिनभर चल्नेछ ।

समूहगत छलफलबाट सुझाव आएपछि बुधबारबाट महाधिवेशनको अन्य प्रक्रिया अघि बढ्ने कार्ययोजना छ । आइतबारदेखि प्रज्ञा भवनमा सुरु भएको माओवादीको आठौँ महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।