कोरोना त्रासको कारण अझै पनि सम्पूर्ण जनजीवन प्रभावित रहेको छ यसै अवसरमा विगतका दिनहरुमा विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आएको नेपालका लागि शिक्षा तथा अनुसन्धान केन्द्रले शैक्षिक सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने क्रममा देशमा मौलाइरहेको भ्रष्टाचारको विरोधमा एउटा सकारात्मक सन्देश प्रवाह होस भन्ने हेतुले अनलाइन कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

"भ्रष्टचार_विरुद्धको_आवाज " बिषय रहेको अनलाइन कविता प्रतियोगिताको सर्वोत्कृष्ट कविता राजु उबरकोटीको कविता हुन सफल भएको छ भने एन. पि. खतिवडा, बिभुती पोखरेल, कृतिमा बस्नेत र धन प्रसाद पौडेलको कविताहरु क्रमश; द्वितीय , तृतीय , चौथो र पाचौं स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगिताको नतिजा सहभागी सर्जकहरुको शब्द, सिर्जना, भाव, वाचन शैली र विषयबस्तुको आधारमा ७०% निर्णायक मण्डलबाट र ३०% फेसबुक पेजको पोष्टमा आएको लाइकको आधारमा नतिजा सार्वजनिक गरिएको CERIN का अध्यक्ष रोहन न्यौपानेले जानकारी प्रदान गर्नुभएको छ।

विजेताहरु लाई तथा सहभागिता जनाउने सम्पूर्ण सहभागीहरुलाई डिजिटल प्रमाणपत्र प्रदान गरिएको छ भने पछि जनजीवन सामान्यभए पश्चात कार्यक्रम गरेर सम्मानपत्रबाट पनि सम्मानित गरिने कार्यक्रमका व्यवस्थापक तथा सदस्य कोशोर कार्कीले जानकारी प्रदान गर्नुभएको छ। यस कार्यक्रमको मुख्य प्रायोजकका रुपमा बाबा एडुकेसन कन्सल्टेन्सी रहेको थियो भने साहित्यिक सहयोगी संस्थाको रुपमा साहित्य मंच नेपाल रहेको थियो । यसै कोरोना कै असर रहेकै अवस्थामा बिगतको दिनमा अनलाइन चित्रकला र अनलाइन निबन्ध प्रतियोगिता सम्पन्न गरेको नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्रले हालसम्म देशको विभिन्न ४ वटा सार्वजनिक सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण गरिसकेको कार्की बताउनुहुन्छ।