बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेकाे करुणा हस्पिटलकाे गम्भीर लापर्वाहीले स्थानीय ४१ वर्षीय नवराज बानियाँकाे मृत्यू भएपछि स्थानीयवासी आक्राेशित भएका छन् । पिसाब राेकिएर हिँडेर गएका बानियाँकाे सही उपचार नहुँदा मृत्यु भएकाे हाे ।

समयमा उपचार गराउन अस्पतालमा चिकित्सक नभएकाे मात्र नभई हेल्थ असिस्टेन्टले आफू डाक्टर भएकाे बताएर उपचार गरिरहेकाे भेटिएकाे छ । अझ गम्भीर विषयमा आकस्मिक कक्षमा हेल्थ असिस्टेन्टलाइ राखेर डाक्टरहरू पार्टीमा व्यस्त भएकाे देखिएकाे छ । अस्पताल संचालक डाक्टर राम श्रेष्ठले सगरमाथा चढेर आएकाले साे खुशीयाली पार्टी गरेकाे डाक्टरहरू पार्टीमा व्यस्त भएकाे बुझिएकाे छ ।

मृतक वानियाँका दाजुले आफ्नै अगाडि भाइले पिसाब राेकिएर मृत्यु भयाे तर हस्पिटलले हर्ट अट्याक भनेर रिपाेर्ट बनाएकाे बताए । पिसाब राेकिएर हस्पिटल आएका बानियाँकाे मृत्यूपछि स्थानीयवासी आक्राेशित भएका छन् । रातिदेखि स्थानीयहरूले हस्पिटललाइ घेरेर राखेका छन् । हस्पिटल प्रशासन र मृतक परिवारबीच एक चरणकाे छलफल भएकाे तर त्याे निष्कर्षमा नपुगेकाे बुझिएकाे छ । अहिले बुढानिलकण्ठका मेयर मिठाराम अधिकारी, पिडीत परिवार र हस्पिटल प्रशासनबीच वार्ता भैरहेकाे छ ।