काठमाडौं, असार ६ गते । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधन तथा मालवाहक यातायातको भाडा समायोजन गरेको हो । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ । 

इन्धनको मूल्य वृद्धिअनुसार विभागले अधिकतम ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै, पहाडी बाटोमा चल्ने मालवाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालवाहक सवारी साधनमा ७.७ प्रतिशत भाडा बढेको छ । 

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहनेछ ।

आइतबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपियाँ तथा डिजेल/मट्टितेलमा २७ रुपियाँ बढाएको थियो । 

हाल पेट्रोल प्रतिलिटर १९९ रुपियाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपियाँ कायम भएको छ ।

डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।