नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ । 

 

घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प्रहरीलाई तत्काल जानकारी गराउन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।  

 

घरदैलोका क्रममा स्थानीयवासीले दिएको मिठाइ खाएपछि सर्लाहीको हरिवन नगरपालिकामा आइतबार माओवादी केन्द्रका ७ उम्मेदवार बिरामी परेका छन् । हरिवनमा माओवादीका मेयर उम्मेदवार कमल बुढाथोकी र वडा नं. ११ का उम्मेदवार शेख इस्तेखारसहित छन् । 

 

पूर्वनिर्धारित कार्यक्रमअनुसार माओवादीका उम्मेदवारहरू हरिवन बजार नजिकको मुस्लिम टोलमा घरदैलोमा हिँडेका थिए । 

 

त्यसै बेला बुढाथोकीको टोलीलाई केही स्थानीयले मिठाइ तथा कोल्ड ड्रिङ्सले स्वागत गरे । मिठाइ खाएको केही समयपछि वडाध्यक्षका उम्मेदवार शेख इस्तेखार बेहोस भएर ढलेका थिए । षडयन्त्रपूर्वक एमालेका व्यक्तिले मिठाइमा विष राखेको माओवादीको दाबी छ ।