ताप्लेजुङ, बैशाख ३ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ। पाथीभरा सडकको सुकेटार-काफ्ले पाटी खण्डको कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो। ट्रयाक निर्माण भएको लामो समयपछि उक्त सडकखण्ड कालोपत्रे गर्न लागिएको हो। कुल ११ किलोमिटर दूरी रहेको सुकेटार-काफ्ले पाटी सडकखण्ड कालोपत्रे हुने भएको हो। दर्शनार्थीका कारण धेरै सवारी चाप हुने यो सडक बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। 

उत्तर-दक्षिण (मुलघाट-दोभान-ओलाङ्चुङगोला) सडक योजना कार्यालय ताप्लेजुङका अनुसार सडक कालोपत्रे गर्ने जिम्मा कन्टेक निर्माण प्रालिले पाएसँगै निर्माणको कार्य सुरु भएको छ। सडक कालोपत्रे गर्नेलाई अहिले नाली निर्माण, ग्रावेल गर्नेजस्ता कार्य धामधम भइरहेको कन्टेक निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीले जानकारी दिनुभयो।

निर्देशक मैनालीका अनुसार दुई वटा एक्साभेटर लगायत उपकरणको प्रयोग गरी ग्रावेल गर्ने गर्ने कार्य भइरहेको छ। अबको दुई/चार दिनभित्रै कालोपत्रे गर्नका लागि आवश्यक पर्ने थप मिसिन तथा उपकरण आइपुग्ने उहाँले बताउनुभयो। उहाँले ठेक्का सम्झौता समय अगावै कालोपत्रे गरिसक्ने योजनाका साथ निर्माणको कार्यलाई तीव्रता दिएको पनि जानकारी दिनुभयो। 

यता उत्तर-दक्षिण (मुलघाट-दोभान-ओलाङ्चुङगोला) सडक योजना कार्यालयका सव-इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग ४० करोड ७६ लाख  रुपियाँ बजेटमा ठेक्का सम्झौता भएको हो। लिम्बूले दुई वर्षभित्र उक्त सडकखण्डमा कालोपत्रे निर्माण गरिसक्ने गरी कम्पनीसँग सम्झौता भएको पनि जानकारी दिनुभयो। पाथिभरा सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी मेची राजमार्ग पर्ने भएकाले पहिले नै कालोपत्रे गरिएको छ।

पाथीभरा सडक कालोपत्रे भएपछि दर्शनमा आउने तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले सडक कालोपत्रे भएमा तीर्थयात्रीको सङ्ख्या दोब्बरले बढ्नसक्ने बताउनुभयो। समितिको तथ्याङ्क अनुसार हाल वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्री पाथीभराको दर्शन गर्न आउने गरेका छन्। 

-गोरखापत्र