बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित भाडाको घरबाट प्रहरीले २१ किलोभन्दा बढी सुन बरामद गरेको छ। सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार छापा मार्दा सुनसँगै प्रशोधनमा प्रयोग हुने विभिन्न मेसिन तथा उपकरणसमेत फेला पारेको हो।



प्रहरी स्रोतका अनुसार उक्त घरमा बसेर सुनको अवैध कारोबार गर्दै आएको आशंकामा चिनियाँ नागरिकहरू पक्राउ परेका छन्। उनीहरूले अमेरिका बस्ने एक व्यक्तिको घर भाडामा लिएर सुन प्रशोधन तथा कारोबारका लागि प्रयोग गरेको प्रारम्भिक विवरणबाट खुलेको छ।

बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालमा विष्ट थर भएका घरधनीको घर उनीहरूले गत साउनदेखि भाडामा लिएको प्रहरी स्रोतले जनाएको छ। उक्त घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ तय गरिएको र चार महिनाको भाडा अग्रिम भुक्तानी गरिएको स्रोतको भनाइ छ।

प्रहरीले घर भाडामा लिएर सुनको अवैध कारोबार भइरहेको सूचना पाएपछि छापा मारेको थियो। उक्त घरबाट २१ किलो ७५०.६८ ग्राम सुन तथा सुन प्रशोधनमा प्रयोग हुने विभिन्न मेसिनरी उपकरण बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार चिनियाँ समूहका एक सदस्य सुरुमा काठमाडौं आएर यहाँको बजार तथा कारोबारको अवस्थाबारे जानकारी लिई चीन फर्किएका थिए। त्यसपछि समूहका अन्य सदस्य पनि नेपाल आएको र उनीहरू नेपाल आएपछि तीन–चार पटक विमानस्थलबाट आवतजावत गरेको विवरणसमेत अनुसन्धानका क्रममा देखिएको स्रोतको भनाइ छ।

प्रहरीले बरामद सुनको स्रोत, कारोबारको प्रकृति, घर भाडामा लिने प्रक्रियादेखि यसमा संलग्न हुन सक्ने अन्य व्यक्ति तथा समूहबारे अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिहरूको संख्या र पहिचानबारे प्रारम्भिक विवरणमा फरक उल्लेख भएकाले प्रहरीले सार्वजनिक गर्ने आधिकारिक विवरणबाट त्यसको पुष्टि हुन बाँकी छ।

घटनाबारे थप अनुसन्धान जारी रहेकाले सुन नेपालमा कसरी भित्र्याइएको थियो र कारोबारको सञ्जाल कहाँसम्म फैलिएको थियो भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।