नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक शिवान तामाङलाई प्रहरीले सामुदायिक वन क्षेत्रबाट सकुशल उद्धार गरेको छ।
भागर निवासी हेमकुमारी आले भदौ २ गते बिहान करिब ७ बजे घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। केही समयपछि घर फर्किँदा उनका नाति शिवान घरमा नभएको थाहा भएपछि परिवार तथा स्थानीयवासीले तत्काल खोजी सुरु गरेका थिए।
स्थानीयसँगै प्रहरीको टोली परिचालन
वन क्षेत्र तथा आसपासमा स्थानीय बासिन्दा र छरछिमेकीले खोजी गरे पनि बालक फेला नपरेपछि प्रहरीलाई जानकारी गराइएको थियो।
बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो। स्थानीय बासिन्दासमेत सहभागी भएर वन क्षेत्र तथा आसपासका सम्भावित स्थानमा खोजीलाई निरन्तरता दिइएको थियो।
भागर खोलाको सिरानमा भेटिए बालक
लगातारको खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको प्रहरीले जनाएको छ।
दुई दिनपछि फेला परेका बालक सकुशल रहेको र आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बालक हराएको खबरपछि चिन्तित बनेको परिवारका लागि सकुशल उद्धारले ठूलो राहत मिलेको छ। घटनापछि स्थानीयवासी र प्रहरीको समन्वयमा गरिएको खोजी तथा उद्धार प्रयासलाई बालकको सुरक्षित उद्धारको महत्वपूर्ण आधारका रूपमा लिइएको छ।

प्रतिकृयाहरु