काठमाडौँ, जेठ १ गते । विभिन्न कारणले वैशाख ३० गते स्थगित भएका चार स्थानीय तहका ६ वटा मतदान केन्द्रमा आज आइतबार मतदान गरिएका छन् । निर्वाचन आयोगले दिएको जानकारी आज निर्वाचन जारी रहेका मतदान स्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविको २ केन्द्रमा मतदान भइरहेको छ । 

त्यस्तै, कालीकोटको रास्कोट गाउँपालिकाको रमाल मस्टो माविको एक केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता मावि खार्दुपको एक केन्द्र, सोहीअनुसार बझाङको जयपृथ्वी नगरपालिका, सुनीपीपल चौर माविको २ मतदान केन्द्रमा मतदान जारी रहेको छ । 

आयागले दिएको जानकारीअनुसार राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण रोकिएको कुल ८५ मतदान केन्द्रमध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय गरिएको थियो । सुरक्षा व्यवस्था सुदृढ पारेर सुरु गरिएको आजको मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । 

जेठ २ गते निर्वाचन हुने मतदान स्थलमा धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाडको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र छन् । त्यस्तै, सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन् । जेठ ३ गते निर्वाचन हुने मतदान स्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।