काठमाडौं । स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारहरुले पाएको सफलताले संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको ओइरो लाग्ने देखिँदै छ । काठमाडौं क्षेत्र नम्बर ५ एकाएक स्वतन्त्र र दल आबद्ध युवा नेताहरूको आकर्षणको केन्द्रमा पर्न थालेको छ ।

निर्वाचनको मिति नतोकिँदै काठमाडौं क्षेत्र नम्बर ५ मा आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेको यो स्वतन्त्र उम्मेदवारको पनि रोजाइमा देखिएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरको २, ३, ४ र ५ नम्बर वडा पर्छन् । त्यस्तै टोखा नगरपालिका २ देखि ७ नम्बर वडा र बुढानीलकण्ठ नगरपालिकाको ३ देखि ७ नम्बर वडाहरू पर्दछन् । यी दुवै नगरपालिका एमालेले जितेको छ भने महानगरपालिकाका चार वटै वडा अध्यक्ष पनि एमालेले नै जितेको छ ।

यो निर्वाचन क्षेत्रका सांसद एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा २३ हजार २९ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हाल प्रवक्ता समेत रहेका डा. प्रकाश शरण महतले १३ हजार १६९ मत ल्याएका थिए ।

को को छन् आकांक्षी ?

यो क्षेत्रमा सबै भन्दा पहिले उम्मेदवारी घोषणा गर्नेमा नेपाल विवेकशील पार्टीकी अध्यक्ष कर्मा लामा तामाङ रहेकी छिन्। उनले सामाजिक सञ्जालमा आफ्नो प्रचार प्रसार पनि सुरु गरीसकेकी छिन्। बर्मिङ्घम विश्वविद्यालयमा राजनिति शास्त्रमा विद्यावारीधी गरीरहेकी कर्माले जर्मनीमा सुचना प्रविधीमा स्नातकोत्तर गरेकी छिन्। रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी सँग विवेकशील नेपालीको दोस्रो एकिकरणमा नगई उनको समुहले नेपाल विवेकशील पार्टी दर्ता गराएको थियो। २०७० को दोस्रो संविधान सभा चुनाव र ०७४ को संसदिय चुनावमा उज्जवल थापा यहि क्षेत्रबाट लडेर तेस्रो स्थान ल्याएका थिए। यो पटक कुकुर मुखाकृतिको चुनाव चिन्हमा कर्माले चुनाव लड्ने छिन्।  

यो क्षेत्रमा एमालेबाट फेरी पोखरेल निर्विकल्प उम्मेदवार हुन् । वरिष्ठ उपाध्यक्ष पनि रहेको र वर्षौँदेखिको उनको ‘लिगेसी’ भएको क्षेत्र रहेकाले उनी यहाँबाट लड्ने पक्कापक्की नै हो । पोखरेलको क्षेत्रको विकास तथा स्थानीयका समस्यामा समेत आफूलाई उपस्थित गराउँदै आएका कारण उनी हेबिवेट मात्र नभएर यहाँका बलिया उम्मेदवार हुन् ।

तर कांग्रेसबाट भने यहाँ को लड्छ ? भन्ने अझै कुनै निश्चित भइसकेको छैन । अघिल्लो निर्वाचन लडेका कांग्रेस प्रवक्ता महत यस पटक गृह जिल्ला नुवाकोट फर्किने सम्भावना बढी छ । काङ्ग्रेस बाट महासमिति सदस्य डा. प्रणय शमशेर राणाले आफ्नो आकांक्षा घोषणा गरीसकेका छन्। तर पार्टीले नदिएको खण्डमा उनि ब्याक हुन सक्ने सम्भावना पनि छँदैछ।

नेकपा एसबाट अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लड्ने चर्चा छ । पराजुलीले पार्टीभित्र पनि सो क्षेत्र गठबन्धनबाट नेकपा एसका लागि लिन दबाब बढाउँदै छन् ।

काठमाडौं महानगरपालिकामा बालेन्द्र साह जितेपछि यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरू पनि रोजाइमा पर्न थालेको छ । पछिल्ला केही दिनयता यहाँ स्वतन्त्र लड्ने भन्दै केही चर्चामा रहेका व्यक्तिहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

जसमा अघिल्लो पटक विवेकशील नेपाली दलबाट मेयर लडेकी रञ्जु दर्शनाको नाम पनि आएको छ । उनले यही क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरिसकेकी छन् । रञ्जुले स्वतन्त्र तर्फ बाट लड्ने तयारी गरीरहेकी छिन्।

यस्तै अर्का चर्चित पात्र पूर्व डिआइजी रमेश खरेलले पनि यही निर्वाचन क्षेत्रबाट उम्मेदवारी लड्ने घोषणा गरेका छन् । खरेल ले क्षेत्र नं १ वा ५ मा लड्ने भन्ने निर्क्यौल भईसकेको छैन।

डा. बाबुराम भट्टराई पुत्री मानुषी यमीको पनि यही क्षेत्रबाट चुनाव लड्ने चर्चा बाहिरिएको छ । उनी जनता समाजवादीबाट निर्वाचन लड्ने तयारीमा छिन् । तर उनी काठमाडौं–५ वा ७ कहाँ लड्ने अझैँ निर्णयमा पुगिसकेकी छैनन् । उनको मावली वडा नम्बर ७ नम्बरमा पर्छ । उनकी आमा हिसिला यमी २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–७ बाटै जितेकी थिइन् ।

किन काठमाडौं–५ मा सबैको नजर ?

यो क्षेत्रमा बालुवाटार, महाराजगन्ज, लाजिम्पाट, बुढानीलकण्ठ, टोखा, लगायतका क्षेत्र पर्दछन् । जहाँ समुदायको मिश्रित बसोबास छ । साथै यहाँ सम्भ्रान्त वर्गको पनि उल्लेख्य तथा निर्णायक मत छ । राजावादीदेखि खानदानी वर्गको यहाँ वर्चस्व छ ।

राज्य संयन्त्रमा बसेर त्यसको फाइदा उठाउँदै मनग्य अर्थोपार्जन गरेकाहरूको बसोबास रहेको यो क्षेत्रले जहिल्यै फरक नतिजा दिँदै आएको छ । सेना,प्रहरी र कर्मचारी प्रशासनका साथै उद्योगी व्यवसायी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि यही क्षेत्रमा बस्छन् ।