काठमाडौँ, कात्तिक १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा मध्यपुरथिमि पुग्नुभएर नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःकाे प्रतिमामा माल्यार्पण गर्नहुुँदै उहाँले उहाँले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभयो ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

सो कार्यक्रममा संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ, नेपाली काँग्रेसका नेता प्रकाशशरण महत, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिलिपकुमार प्रजापतिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।