नेपालमा ४६ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ४६ हजार ४१३ जनामा डेंगु पुष्टि भएको हो। 

नेपालमा सात प्रदेशका ७७ जिल्लाबाट डेंगु सङ्क्रमण फैलिसकेको छ। डेंगुका कारण ५२ जना डेंगु सङ्क्रमितको मृत्यु भइसकेको छ। मन्त्रालयले ५० औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने प्रक्षेपण गरेको छ।

मन्त्रालयका अनुसार अहिले डेंगु ४२ औँ हप्तामा प्रवेश गरेको छ। मन्त्रालयका अनुसार ३६ औँ हप्तामा उच्च बिन्दुमा पुगेको थियो। चिकित्सकका अनुसार डेंगु एडिस एजप्टी र एडिस एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। 

उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्। लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव भएर बेहोस हुने भएकाले  डेंगुभएका मानिसलाई हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ।

उच्च ज्वरो आएमा कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्ने डेंगुको उपचार हो। एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।